
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् ।
शुक्रबार राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गरिन्।
‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नुपर्छ। हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्,’ उनले भनिन्। भण्डारीले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन् ।
देशको अस्थिरताले मित्रराष्ट्रहरूलाई समेत चिन्ताको अवस्था आउन सक्ने चेतावनी दिँदै उनले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन आग्रह गरिन् ।
उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।







Facebook Comments