
काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित प्रहरी प्रभागबाट पुनः सेवा सुरु भएको छ । जेनजी आन्दोलनको क्रममा आगजनी भएको भवन विभिन्न टोल सुधार समिति, समाजसेवी, व्यवसायी, उद्योगीहरूको सहयोगमा ३५ लाख खर्च गरेर भवन सबलीकरण गरेर सञ्चालनमा ल्याइएको हो ।
पुनः सेवा सुरु भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले विधिलाई छोडेर विध्वंस रोज्नु गलत भएको बताए । सुरक्षा निकायमा आक्रमण गर्नु, राष्ट्रिय धरोहरहरू तहसनहस बनाउनु दुखद भएको उनको भनाइ छ ।
आक्रमणको बाबजुद काँडाघारी प्रहरी प्रभागको हातहतियार सुरक्षित राखेकोमा भने उनले खुसी व्यक्त गरे । कार्कीले देशको गौरव र विरासतका रूपमा रहेको सिंहदरबार पुनः निर्माणको लागि उपत्यका मेयर फोरमले ५ करोड सहयोग गरेको जानकारी गराए ।
नगरका ७, ८, ९ का वडा अध्यक्षहरु अनिल थापा, भीमसेन थापा, हरिभक्त्त पुडासैनी, हात्तीडाँडा समाजको पूर्वअध्यक्ष गणेश थापा, स्थानीयहरू डोलनाथ पोखरेल, गयाप्रसाद उपाध्याय, भागिरथी पन्थ, लोकेन्द्र बस्नेत लगायतका सक्रियतामा प्रहरी प्रभाग सम्पन्न भएको हो ।







Facebook Comments