काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द गरिएको छ ।

पानी परिरहेकाले प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता जेनजी शेर्पाले जानकारी दिए । उनले मौसम खुलेपछि उडान पुनः सुचारु हुने बताए ।

यता, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ । गएराति सामान्य वर्षा भएकोमा बिहानदेखि वर्षा बढ्दै गएको छ । महाशाखाले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ ।