
विराटनगर । कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितका लागि राहत सामग्री पुर्याएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टरको प्रयोग गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैँ फिल्डमा खटिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार दैनिक उपभोग्य खाद्य सामग्री चामल, दाल, आलु, नुनतेल, बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपाल पठाइएको छ ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको सहकार्यमा माङसेबुङ र इलाम नगरपालिका क्षेत्रका प्रभावितलाई राहत सामाग्री वितरण गरेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा गरेर २ सयजनालाई पुग्ने गरी राहत सामाग्री लिएर कार्की इलाम पुगेको बताए । आजै माई नगरपालिका क्षेत्रका प्रभावितलाई पनि राहत सामग्री वितरणको तयारी छ ।
जेन-जी आन्दोलनका क्रममा मन्त्रालयका अधिकांश सवारी आगजनी र तोडफोड गरिएकाले राहत, खोज उद्धारलाई असर परेको भण्डारीले बताए । विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राहत मौज्दात राखिएको छ ।
अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत राहत सामग्री पुगेको छ । सबै प्रभावित क्षेत्रमा राहत तथा बन्दोबस्तीका सामग्री आजै पुर्याइने बताइएको छ । बाढीपहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।







Facebook Comments