सुनसरी ।  लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

असोज १८ गतेदेखि सुरू भएको बाढी र पहिरोको प्रभाव अझै रोकिएको छैन । पछिल्लो विवरण अनुसार कोशीमा ४६ जनाको मृत्यु, ३ जना बेपत्ता र २ हजार १०५ जनालाई उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिएका छन् ।

अहिलेसम्म इलाममा ३८, पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको छ । त्यस्तै, इलाममा १ जना अझै बेपत्ता रहेको एसएसपी पोखरेलले बताए ।

बाढी र पहिरोले कोशी प्रदेशका विभिन्न राजमार्ग र सडकखण्डमा अवरोध कायमै रहेको छ । इलाममा मेची ए राजमार्गको एकथानमा, भोजपुरमा मध्यपहाडी लोकमार्गका ३ स्थानमा,संखुवासभामा कोशी राजमार्गका २ स्थानमा, धनकुटाको तमोर करिडोरको १ स्थान र  खोटाङको दिक्तेल–गाईघाट सडकखण्डको १ स्थानमा सडक अवरुद्ध भएको एसएसपी पोखरेलले जानकारी दिएका छन् ।

कोशी प्रदेशमा ६ हजार ४ सय ४८ घर परिवार विस्थापित भएका छन् । बाढी र पहिरोबाट  २९ हजार ३ सय ९२ जना नागरिक प्रभावित बनेको पोखरेलले बताए ।