काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिन  गर्ने भनिएको प्रदर्शनलगायत विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, व्यक्ति तथा विभिन्न समूहहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पर्नसक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

आयोगले हिंसात्मक गतिविधि, अरूप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धूमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल पर्न जाने ठहर गर्दै सङ्क्रमणकालीन अवस्थाको निकास खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख  गरेको छ ।