
काठमाडौँ । पोखराको लिचीबारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा लिएर विशेष अदालत पुगेको छ । पूर्वमन्त्रीसहितलाई विपक्षी बनाएर अख्तियार विशेष अदालत पुगेको विशेष अदालत स्रोतले जानकारी दियो ।
लिचीबारी प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायत मुछिएका छन् । "अहिलेसम्म रुजुकै प्रक्रियामा रहेकाले प्रतिवादी र बिगो भन्न सकिने अवस्था छैन," स्रोतले भन्यो, "रुजुको प्रक्रिया सकिएपछि दर्ता भएमा विस्तृत (डिटेल) जानकारी दिन सक्छौँ ।"
सार्वजनिक जग्गा सुकुम्वासीका नाममा निजीकरण गरी ठूलो भ्रष्टाचार हुन लागेको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । अडियोमा 'पैसा खाइसक्यो' भनेर पोलिएका तत्कालीन भूमिसुधारमन्त्री बलराम अधिकारीले भने राजीनामा दिएका थिएनन् ।
गुप्तासँगै पूर्व भूमिसुधारमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि विवादमा तानिएकी थिइन् । उनीसहित संलग्न भनिएकाहरूलाई अख्तियारले बयानमा बोलाएको थियो ।







Facebook Comments