काठमाडौँ । जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

नजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ । गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि हिजो साँझ सूचना निकालेर अनौपचारिक समूहको गतिविधिमा अवाञ्छित तत्त्वहरूको घुसपैठ, हुलहुज्जत, सरकारी सम्पत्तिको तोडफोड जस्ता कानून विपरीतका कार्य हुसक्नेतर्फ सचेत गराएको थियो । प्रदर्शनकारी एवं आन्दोलन गर्न खोज्ने समूहहरू समेत स्वयं जोखिममा पर्न सक्ने सम्भावनालाई गम्भीर रूपमा लिन प्रशासनले भनेको छ ।

गत भाद्र २३ र २४ गतेको आन्दोलन र सो पश्चातका घटनाहरूको क्रममा भएको अराजक तत्त्वहरूको घुसपैठ, आगजनी, तोडफोडका घटनाहरू पुनः घट्न सक्ने प्रशासनको भनाइ छ ।
गृहको विज्ञप्तिपश्चात भने केही समूहले आजको लागि घोषणा गरेको कार्यक्रम फिर्ता लिएका छन् ।