भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्याल राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको भन्दै आलोचना गरेका छन् ।

नेकपा एमाले भक्तपुरले गुण्डुमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको आरोप लगाए । ‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण ?’, उनको प्रश्न थियो, ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन् । लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृहमन्त्रालय सञ्चालन हुन्छ ? शान्ति सुरक्षा कसरी कायम हुन्छ ?’

गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको पोखरेलले बताए । सुशीला कार्की नै संविधानविपरीत प्रधानमन्त्री भएको दाबी गर्दै उनले दलहरूको सहमतिमा संविधान संशोधन गरेर उनलाई नै प्रधानमन्त्री बनाउन दलहरू तयार रहेको स्मरण सुनाए । ‘मुलुकमा उत्पन्न परिस्थितिका कारण उहाँको नियुक्तिलाई हामीले मौनता साध्यौँ तर प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोज्नुभएको छ’, पोखरेलको भनाइ थियो ।

महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको भन्दै देशमा सुरक्षाको प्रत्याभूति नदिलाई, प्रहरीको मनोबल नउठाइ, लुटिएका हतियार फिर्ता नगराई निष्पक्ष चुनाव हुन नसक्ने बताए ।

‘सरकार दलहरूसँग संवाद, छलफल नगरी निर्वाचनको नाटक गर्दैछ । असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर, त्यसले वैद्यता पाएन । अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।’