काठमाडौँ । ‘जेनजी’ आन्दोलनका सहिद तथा घाइते परिवारका सदस्यले आन्दोलनको उपलब्धिलाई रक्षा गर्नका निम्ति छुट्टै दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटेलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनीतिक दलको आवश्यकता औँल्याएका हुन् ।

जेन जेड, वाई, एक्सको सहभागितामा तत्कालै दल गठन गर्नुपर्नेमा उनीहरूले जोड दिए । राजनीतिक दल गठनपश्चात् जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरूले बताए । उनीहरूले भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरे । जेनजीको समूह फरक—फरक रहेको भन्दै उनीहरूले एकजुट हुन समेत आग्रह गरे ।

जेनजी आन्दोलनका उपलब्धिको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गएको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै जनधनको क्षति भएको छ ।