
काठमाडाैँ । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
सरकारी अधिकारीहरूले यो भूकम्पपछि विनाशकारी सुनामी आउने चेतावनी जारी गर्दै जनतालाई तटीय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् ।
भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ ।
दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबले भूकम्प जाँदा मानिसहरूमा भागदौड मच्चिएको र केही भवनहरूमा क्षति पुगेको जानकारी दिएका छन् । उनले भूकम्प धेरै शक्तिशाली रहेको जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ । इन्डोनेसियाको भौगर्भिक एजेन्सीले यी क्षेत्रहरू खतरामा रहेको जनाएको छ । फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने बताएको छ ।
हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि अधिकारीहरूले उद्धार र आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेका छन् । यस हप्ता गएको यो भूकम्पले फिलिपिन्समा प्राकृतिक प्रकोपहरूको शृङ्खला जारी राखेको छ । गत हप्ता सेबु प्रान्तको बोओगको तटीय सहरमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएका थिए ।
फिलिपिन्स टाइफून (सामुद्रिक आँधी) को जोखिममा पनि छ । हालै तीव्र आँधी बुआलोइले फिलिपिन्सको केन्द्रमा रहेका साना टापुहरूमा क्षति पु¥याउँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो र लाखौँ मानिसहरूलाई विस्थापित हुनुपरेको थियो ।
यसै वर्षको सेप्टेम्बरमा सबैभन्दा ठुलो आँधी सुपर टाइफून रागसा देशको उत्तरी कागयान प्रान्तमा ठोक्किएको थियो । सन् २०१२ मा पनि टाइफून बोफाका कारण सोही प्रान्तमा सयौँको ज्यान गएको थियो ।







Facebook Comments