काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारलाई उत्तेजित नहुन सुझाव दिएका छन् । सानेपमा आज सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले अहिले राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय नभएको बताए ।

“अहिलेको समय उत्तेजित हुने, राजनीतिक प्रतिशोध राखेर काम गर्ने समय होइन । लोकतान्त्रिक मूल्य मान्यता अनुसार, काम गरौँ । उत्तेजनामा आएर होइन कानुनबमोजिम काम गरौँ,” लेखकले भने ।

सबै राजनीतिक दलहरूलाई लोकतान्त्रिक विधि र कानुनबमोजिम काम गर्नुपर्ने पनि उनको सुझाव छ । उनले अगाडि थपे, “मैले भदौ २३ गतेकै घटनामा राजीनामा पनि गरिसकेको थिएँ । भदौ २४ गतेका दिन पनि अत्यन्तै दु:खदायी घटनाहरू भए । विभिन्न ठाउँमा आगजनी भए । मानवीय क्षति भयो ।”