काठमाडौँ । संघीय राजधानी काठमाडौंलाई वाग्मती, मधेस र कोसी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगैको बाढीपहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरिपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए ।

अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । काभे्रको कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुंगे पुल)मा सडक क्षति पुगेको थियो ।