काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुबेलाको सहनाई नबजाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीमा तयारी भइरहेका बेला खनालले ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गर्न आग्रह गरेका हुन्।

पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम नभएको उनको भनाई छ। उनले जेनजी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि उपचारका क्रममा भारतमा रहेका खनालले एसलाई सशक्त क्रान्तिकारी पार्टी बनाउने मार्गमा अघि बढाउन आग्रह गरे।

‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ। सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं। ठिक बेठिक के गऱ्या, दूध र पानी छुट्याऔं। हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं।’ खनालले भने, ‘हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली बिशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं।’

उनले सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढाउनुपर्ने बताए। खनालले भने, ‘एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं। मेरो विचारमा आजको सहि मार्ग यहि हो। कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं। सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ।’

खनालले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको धारणा राखेका छन्।