
भक्तपुर । जडीबुटी बसपार्कमा शुल्क विवाद चर्किएपछि पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीमाथि मजदुर र व्यवसायीहरुले कुटपिट गरेका छन् । बसपार्कको शुल्क सम्बन्धी छलफलकै क्रममा दुवै तर्फबाट हातपात भएको दुवै पक्षको आरोप छ ।
पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा काठमाडौं महानगरपालिका-३२ जडीबुटीमा निर्माण गरेर सञ्चालनमा ल्याएको बसपार्कमा अत्यधिक शुल्क लिएको भन्दै यातायात व्यवसायीहरुले विरोधमा उत्रिएका थिए । शुल्क लगायत अन्य विषयमा छलफलको क्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री मजदुर र यातायात व्यवसायीहरु बाट कुटिएका थिए ।
जडीबुटी बसपार्कमा छलफल भैरहवा मजदुर र व्यवसायीहरुले क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीलाई कुटेका हुन् । अध्यक्ष क्षत्रीको समूहले व्यवसायी र मजदुरहरूमाथि पनि कुटपिट गरेका र व्यवसायीहरु समेत घाइते भएका छन् ।
‘बसपार्कको शुल्कको विषयमा छलफल गर्नुछ बसपार्कमा आउनुहोस् भनेर बोलाएपछि हतारहतारमा आएको थिए, एक्कासि हातपात भइहाल्यो’, अध्यक्ष क्षेत्रीले भने, ‘एमाले र माओवादीका मजदुरहरूले योजनाबद्ध रूपमा ममाथि आक्रमण भयो ।’
१४ रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्व अरनिको यातायात प्रालिले झन्डै १० करोड रुपैयाँको लगानीमा दुई वर्ष अगाडि बसपार्क निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको थियो । बसपार्क सञ्चालनमा आए पनि बसपार्क सञ्चालनको इजाजत भने कतैबाट पनि प्राप्त भएको छैन ।
प्रदेश सरकारसँग बसपार्क सञ्चालनका लागि स्थायी अनुमतिका लागि आफूहरू अघिल्लो दिन मात्रै बागमती प्रदेश सरकारमा गएर अनुरोध गरेको र त्यसैको भोलिपल्ट आफूहरूमाथि आक्रमण भएको क्षत्रीले बताए ।







Facebook Comments