काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिका भागे भनेका पूर्वऊर्जामन्त्री दीपक खड्का आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् ।

उनले सोमबार केही पत्रकारहरुसँग कुरा गर्दै गलत समाचार नदिन पनि अनुरोध गरे ।

उनले भदौ २३ र २४ गतेको आन्दोलनले मुलुक नै नरहने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै भने, “हामी नेपाली भएर बाच्न पाउने कि नपाउने त्यो अवस्थामा छौँ । हिजोका घटना एक ठाउँमा राखौँ । तर अब मिलेर अघि बढ्नुको विकल्प छैन । नयाँ सरकार गठन भएको छ । त्यसलाई आत्मसात गरौँ । दलका शीर्ष नेताहरुले नै यस कुरालाई भनिसक्नुभएको छ ।”

उनले आफ्ना विषयमा पछिल्ला दिनमा जसरी समाचार आए त्यसले गलत सन्देश गएको बताए । “मेरा विषयमा जसरी समाचार आए । सत्तासिन मान्छेले भनेको सुनियो, त्यो गलत थियो,” उनले भने ।