काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित भएको छ । आज (बुधबार) एकता घोषणासभा र राष्ट्रिय सम्मेलनमार्फत ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा ती प्रस्ताव वर्षमान पुनले वाचन गरेका थिए ।

 प्रस्तावहरुमा पार्टीको नाम, चुनाव चिन्हलगायतका कुरा समेटिएका छन् । एकतापछिको पार्टीको संयोजकमा पुष्कमल दाहाल र सह–संयोजकमा माधवकुमार नेपाल छन् । पार्टीको तेस्रो वरियतामा भने झलनाथ खनाललाई राखिएको छ । खनाल ढिलोगरि यो एकता प्रक्रियामा सामेल भएका हुन् ।

यी हुन पारित ९ गरिएको बुँदे प्रस्तावहरू

१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।

२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।

४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनको काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।

८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।

९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।
तस्विर स्रोत : रामप्रसाद सापकोटा ‘दीपशिखा’/फेशबुक पेज