
काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवगठित दल नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । आज (बुधबार) भृकुटीमण्डपमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत यो दल पहिलो (एक नम्बर) को हुने दाबी गरेका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ ।’ दाहालअघि बोलेका वामदेव गौतमले पनि नेकपाको पार्टी सदस्य ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका थिए ।
दाहालले १० वाम घटकबीच एकता हुनुको पछाडि जेनजी आन्दोलनले खडा गरेको परिस्थितिलाई देखाएका छन् ।उनले भदौ २३ र भदौ २४ गते भएको जेनजी आन्दोलनको कारण आफूहरु एकतामा आएको प्रष्टीकरण दिएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा झन्डै ६ घण्टा देश राज्यविहीनजस्तो बनेको पनि स्मरण गराए । दाहालले त्यसलाई सुगौली सन्धि हुनुअगाडिदेखि आजसम्म कहिल्यै यति ठुलो राष्ट्रिय संकट नदेखिएको रुपमा चित्रण गरेका छ्न।







Facebook Comments