काठमाडौं, २२ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले संयोजक प्रचण्डलाई अब आफूहरु कार्यकारी पदमा नबसौं भनेर प्रस्ताव गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिबाट भाग्न नसकिए पनि अब कार्यकारी पदमा भने आफू र प्रचण्ड नबस्ने बताएका हुन् । उनले लगातार एउटै मान्त्रै, सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टीको कार्यकारी पदमा बसिराख्ने कुरा गलत रहेको बताए ।

‘मैले प्रचण्डलाई भनिराखेको छु– तपाईँ हामी अब कार्यकारी जिम्मेवारीमा नबसौं । राजनीतिबाट भाग्न सकिँदैन । तर, कार्यकारी प्रमुखको जिम्मामा बस्ने होइन । नमरुन्जेलसम्म नेतृत्व नछाड्ने प्रवृत्ति गलत हो । ज्यानले दिँदै दिँदैन । अशक्त भए पनि पदको निम्ति मरिहत्य गर्ने त्यो गलत हो ,। लगातार उही सांसद, मन्त्री, प्रधानमन्त्री र पार्टीको कार्यकारी पदमा बसिरहनुपर्ने गलत हो । थिति बसाल्नैपर्छ,’– उनले भने ।

नेता नेपालले अहिले आफूहरुले १० कम्युनिष्ट घटकहरुलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाएको बताए । उनले यो एकता टिक्ने र टिकाइराख्ने पनि उनले बताए । उनले भने,‘यो एकता टिक्छ । १० वामको एकता नेपाली कम्युनिष्ट पार्टी बनाएका छौं । त्यो अगाडि बढ्छ, टिक्छ, टिकाइन्छ,’– उनले भने ।

उनले अहिलेको एकता एमालेलाई कमजोर बनाउन पनि नरहेको र चुनावलाई मात्र ध्यानमा राखेर पनि नचलेको बताए । नेपालको राजनीतिलाई सकारात्मक दिशातिर लिएर जानका लागि एकता गरिएको नेता नेपालले बताए । नेपाली राजनीतिका फोहोर मैलाहरुलाई सफा सुघर गर्नका लागि, राजनीतिमा देखिएको विकृति र विसंगतिलाई हटाउन र सिध्याउनका लागि, गरिबी, बेरोजगारीजस्ता समस्याहरुको समाधान गर्नका लागि आफूहरु एकतामा गएको उनले बताए ।