काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसमा १५औं महाधिवेशन चुनावअघि नै गर्ने कि चुनावपछि भनेर विवाद चुलिएको छ । संस्थापन पक्षले चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको बेलामा यही पक्षधर केन्द्रीय सदस्यहरुले भने आज छुट्टै भेला गरी चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने भनेका छन् ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीको बैठकमा नै नियमित महाधिवेशन चुनावअघि नै गर्नुपर्ने मत राखेका थिए । उनले चुनावमा जाँदा गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार तोकेर जानुपर्ने मत राखेका थिए । आज मन्सुरकै पहलमा संस्थापन पक्षधर २० भन्दा बढि केन्द्रीय सदस्यहरुले छुट्टै भेला राखेर नियमित महाधिवेशन चुनावअघि गर्नुपर्ने निश्कर्ष निकालेका हुन् ।