काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहेर लोडसेडिङ अन्त्य गरेपछि चर्चा र लोकप्रियता कमाएका कुलमान घिसिङ अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् । जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बन्ने अवसर पाएका कुलमान अब राजनीतिमै सक्रिय हुने तयारीमा छन् । अहिले अन्तरिम सरकारको मन्त्री पदमा भएकाले प्रत्यक्ष रुपमा दलमा आवद्ध नभए पनि उनकै नेतृत्वमा रहने गरी उज्यालो नेपाल पार्टी दर्ता भइसकेको छ ।
घिसिङले सुरुमा रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठलगायतसँगको छलफललाई तीव्र बनाएका थिए । तत्काल निष्कर्ष भने आएन । त्यसपछि घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि एकताको प्रस्ताव अगाडि बढाएका थिए । तर कुरा मिलेन ।
रास्वपाले आइतबार विवेकशीला साझा पार्टीसँग एकता घोषणा ग¥यो । सोही दिन राति घिसिङले सबैलाई सरप्राइज दिए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर सरप्राइज दिएका हुन् । तस्विरसँगै क्याप्सनमा लेखिएको छ–‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’
घिसिङको सचिवालय स्रोतका अनुसार घिसिङ र बालेनबीच शुक्रबार बालेनको निवासमा भेट भएको थियो । घिसिङले ‘देश बनाउने अभियानमा हामीसँगै छौँ’ भनेर बालेनसँग भेटको तस्वीर पोस्ट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसबाट प्रष्ट हुन्छ कि घिसिङले राजनीतिक सक्रियता बढाएका छन् । आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा आफ्नो दललाई शक्तिशाली बनाएर प्रधानमन्त्री नै बन्ने घिसिङको लक्ष्य देखिन्छ ।
घिसिङको लक्ष्यमा बालेन पनि सारथीको रुपमा रहने संकेत तस्विरले दिएको छ । अर्थात बालेनको बलमा आफू प्रधानमन्त्री हुने सन्देश घिसिङे दिन खोजेको देखिन्छ ।



Facebook Comments