काठमाडौं । दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको छ । यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सुको अवस्था देखिएको छ ।
सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यसैगरी दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
यसैगरी राति पनि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले चक्रवात ‘दित्वा’ को प्रभाव अस्थायी मात्र हुने र सामान्य बदली बाहेक विशेष जोखिम छुट्टै नभएको उल्लेख गरेको छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने न्यून रहेको मौसमविदहरूले बताएका छन् ।



Facebook Comments