काठमाडौं । इजरायलले गाजाको दक्षिणी सहर राफाको सुरुङमा फसेका ४० हमास लडाकु मारिएको दाबी गरेको छ ।
इजरायली सेनाले वक्तव्य जारी गर्दै हतियारधारी लडाकुहरूलाई समाप्त पार्न राफामा रहेका सुरुङहरू नष्ट गरिरहेको जानकारी दिदै गत हप्ता सुरुङभित्र ४० भन्दा बढी लडाकु मारिएको उल्लेख गरेको हो ।
इजरायली सञ्चारमाध्यमका अनुसार, राफाको जमिनमुनि गत मार्चदेखि करिब २०० हमास लडाकु फसेका थिए । हमासको मागका बावजुद इजरायलले उनीहरूलाई बाहिर निस्कने बाटो दिएको थिएन ।
समाचार संस्था रोयटर्सले गत महिना राफामा रहेका हमास लडाकुहरू सात÷आठ महिनादेखि सम्पर्कविहीन रहेको र उनीहरूलाई युद्धविराम लागु भएको जानकारीसमेत नभएको उल्लेख गरेको छ ।
गत नोभेम्बर ६ मा इजरायल र हमासबीच एउटा सम्झौताको प्रस्ताव आएको थियो । उक्त प्रस्तावमा हमासका लडाकुहरूलाई सुरक्षित रूपमा निस्कने बाटो दिनुपर्ने, इजरायलले उनीहरूलाई मार्नुको सट्टा कुनै तेस्रो देश वा गाजाको अर्को भागमा जान दिनुपर्ने सुझाव थियो । तर, इजरायल यसका लागि सहमत भएन ।



Facebook Comments