काठमाडौँ । आज (मंसिर १६, मंगबार) अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । सन् १९४९ देखि संयुक्त राष्ट्रसंघको पहलमा डिसेम्बर २ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ ।

पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेकोे पाइएको छ । समाजमा विशेषगरी महिला र बालबालिकामाथि बढी श्रम शोषण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमिकलाई जबरजस्ती जोखिमपूर्ण कामगर्न बिनाकुनै परिश्रममा लगाइन्छ र यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छ ।

नेपालमा विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा भएको थियो । तर पनि विभिन्न स्वरुपमा दासताप्रथा अझै कायमै छ । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीमाथि शारीरिक तथा मानसिक दमन हुने गरेको उनीहरुको गुनासो छ ।

मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाइन्छ ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।