काठमाडौँ । हरेक निर्वाचनमा मतदान केन्द्रको सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गर्ने प्रचलन छ । निर्वाचनका लागि मात्र भनेर अस्थायी रुपमा म्यादी प्रहरी भर्ना गरिन्छ । उनीहरुलाई ४० दिनको पारिश्रमिक दिने गरिएको छ । भर्नापछि सामान्य तालिम दिएर निर्वाचन सुरक्षामा खटाइन्छ ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । त्यसका लागि गृह मन्त्रालयले म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । तर यसपटकदेखि सरकारले म्यादी प्रहरी होइन, निर्वाचन प्रहरी भन्ने भएको छ । अर्थात म्यादी प्रहरीको सट्टा निर्वाचन प्रहरी नामाकरण गरिएको छ ।
गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा छ । प्रहरीमातहत रहने गरी निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम नआउन्जेलसम्म कार्यअवधि गणना गरेर खटाइनेछ ।
आसन्न निर्वाचनमा करिब १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।
निर्वाचन प्रहरीलाई केके सेवा सुविधा दिइनेछ ? (२०७९ सालमा निर्धारण गरिएको)
-प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक
-जवानले सम्बन्धित जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता
-४० दिनको कार्यअवधि तोकेर प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक
रासनबापत ७ हजार २ सय
-हिमाली जिल्लाको हकमा जिल्लाको न्यूनतम रासन दरअनुसार रकम
-तोकिएका पोसाक किन्न ६ हजार र ज्याकेट किन्न थप १ हजार
-यातायात खर्चबापत १ हजार
-तीन दिनका लागि दैनिक ३ सयका दरले खाजा खर्च
पूर्वसेना, प्रहरी र विदेशी मुलुकमा भर्ती भएर अवकाश पाएका व्यक्तिलाई म्यादीमा प्राथमिकता दिइँदै आइएको छ । २०७९ को निर्वाचनमा १८ वर्ष पुगेर ५४ वर्ष ननाघेका नेपाली नागरिकलाई म्यादीमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचन सुरक्षार्थ सवा ३ लाख सुरक्षाकर्मी खटाउने तयारी छ । नेपाली सेनाका करिब ७९ हजार, प्रहरीका करिब ७२ हजार र सशस्त्र प्रहरीका ३३ हजार जनशक्ति परिचालन गर्ने निर्णय भइसकेको छ ।



Facebook Comments