
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको मुद्धा फेरी अदालत पुगेको छ । विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
विशेष अदालतले चार जना नेपाली र सात जना विदेशीलाई दोषी ठहर गरे पनि अन्यलाई सफाइ दिने फैसला गरेको थियो ।
विशेष अदालतले सफाइ दिएकाहरु :
विमान खरिदसम्बन्धी मुद्दामा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, निगम सञ्चालक समितिका तत्कालीन सदस्यहरू जीवनप्रकाश सिटौला, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडीले सफाइ पाएका थिए । तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाईं, नायब महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्यलाई पनि विशेषले सफाइ दिएको थियो ।
यस्तै, वरिष्ठ विमान चालकहरू सुवास रिजाल, श्रवण रिजाल, रवीन्द्रकुमार शेरचन, तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, निर्देशकहरू उपेन्द्र पौडेल र उमेश पौडेल, तत्कालीन उपनिर्देशक पारस पौडेल र बृहतमान तुलाचनले पनि सफाइ पाएका थिए । विदेशीतर्फ नर्टन रोज फुलब्राइटका प्रतिनिधिहरू मार्कस रेडब्रुच र राफ स्प्रिंगरलाई पनि सफाइ दिइएको थियो ।
अख्तियारले २४ नेपाली, तीन विदेशी नागरिक तथा विमान आपूर्तिमा जोडिएका विभिन्न विदेशी कम्पनी र त्यसका मुख्य व्यक्तिसहित ३२ विरुद्ध २२ चैत २०८० मा दायर गरेको थियो । विशेष अदालतले २० मंसिर २०८१ मा फैसला सुनाउँदै अख्तियारको मागदाबीअनुसार नै १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो ठहर गरे पनि ११ जनाबाट मात्र दामासाहीले असुल गर्नुपर्ने निर्णय गरेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै अख्तियारले अभियोगपत्रअनुसार सबै ३२ जनालाई सजाय हुनुपर्ने मागदाबी गरेको छ ।
विदेशी नागरिकहरू दीपक शर्मा (नेपाली मुलका बेलायती नागरिक), ओलिग क्यालिस्त्रु, जोन होल्मेस, अना टोपा, पाउलो मिरपुरी, गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्युहेलेन पनि दोषी ठहर भएका थिए । श्र्मा विमान आपूर्तिकर्ता कम्पनी इन्टरनेसनल सप्लाई चेन तथा एएआर इन्टरनेसनल इन्क अमेरिकाका तत्कालीन प्रमुख हुन् । रोमानिया÷मोल्दोभोका नागरिक न्युहेलेन हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक एवं जर्मन एभिएसन क्यापिटलका प्रतिनिधि हुन् ।
क्यालिस्त्रु जर्मन एभिएसन क्यापिटलका फाइनान्स डाइरेक्टर तथा होल्मस एएआर कर्पोरेसन इन्क अमेरिकाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, टोपा जर्मन एभिएसन क्यापिटल जीएमबीएम जर्मनीका प्रबन्ध निर्देशक र मिरपुरी हाइफ्लाई एयरलाइन्स÷हाइफ्लाई ट्रान्सपोर्ट एरोज पोर्चुगलका अध्यक्ष हुन् । होल्मेस एएआर कम्पनीका सीईओ र थ्रोन्टन हाइफ्लाई एक्सका निर्देशक हुन् ।
विमान खरिद प्रकरणमा २७ पुस २०७३ मै अख्तियारमा उजुरी परेको थियो । त्यसको २ वर्षपछि २६ पुस २०७५ पुसमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । महालेखा परीक्षकको ५५ औं र ५६ औं वार्षिक प्रतिवेदनमा पनि विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको औंल्याइएको थियो ।
निगमका लागि जहाज खरिद गर्दा ‘बदनियतपूर्ण’ रूपमा खरिदका मापदण्ड संशोधन गरेको, निश्चित कम्पनीलाई अनुकूल हुने गरी प्रावधान राखेको, विमानको भारवहन क्षमताभन्दा बढी रकम भुक्तानी गरेको, बैंक जमानत–सुरक्षणबिनै रकम भुक्तानीका लागि डलर सटही सुविधा सिफारिस गरेको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विमानको भारवहन क्षमतालाई २ सय ४२ टनबाट घटाएर २ सय ३० टनमा कायम गरेको तर भुक्तानी २ सय ४२ टनकै कायम गरी ६६ लाख डलर बढी भुक्तानी गरेको अख्तियारको निष्कर्ष थियो ।



Facebook Comments