
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले १२ औँ स्थापना दिवस मनाएको छ । नगरपालिकाको सभा हलमा मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । ११ वर्ष पार गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफ्नो दुई कार्यकालमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।
अधिकारीले पहिलो पटक २०७४ साल वैशाखमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको स्मरण गरे । वडा नम्बर १ देखि ११ सम्म नै हिलो टेकेर हिँड्नुपर्ने अवस्थाबाट अहिले धेरै परिवर्तन गरेको उनले बताए ।

शिक्षा क्षेत्रमा सुधार गरेको दाबी गर्दै उनले विद्यालयको भौतिक संरचनामा धेरै परिवर्तन गरेको नगर प्रमुख अधिकारीको भनाइ छ । नगरपालिकाले सामुदायिक विद्यालयको अस्तव्यस्ततालाई अन्त्य गरेको बताए । सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सफल भएको दाबी गरे । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरे पनि आफूहरुले कक्षा १० सम्म नै खाजा खुवाउने गरेको अधिकारीले बताए ।
जनसमुदायको प्रेरणा, साथ र सहयोगले नै परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कतिपय काम अझै गर्न बाँकी रहेको बताए । स्वमूल्याङ्कनमा काठमाडौं जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको पनि उनले जानकारी दिए ।
केही समस्या छन् भने जानकारी गराउन आग्रह गर्दै उनले समाधान गर्दै जाने प्रतिबद्धता जनाए । आफूलाई जनताले २४ सै घण्टा भेट्न पाउने उल्लेख गर्दै उनले भेटेर वा फोनमार्फत पनि समस्या राख्न पाउने बताए ।
“टोखा हाम्रो गौरव हो, प्रतिष्ठा हो । टोखाको जनतालाई खुशी बनाउने अर्जुनदृष्टी बोकेर हिँडेको छु ।” उनले भने ।

सडक बत्तीको समस्याबारे स्थानीयको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था रहेको उनले बताए । मेट्रिक एड्रेसिङ सिस्टम हाउजिङ नम्बर अर्थात घरको डिजिटल नम्बर राख्ने काम पनि छिटै हुने उनले बताए । डिजिटल प्लेट नम्बरको ठेक्का लगाइसकेको उनले जानकारी दिए । काम सम्पन्न भएपछि घरघरमा डिजिटल बोर्ड हुने छ ।
५० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने र उपचार गराउने गरेको अधिकारीको भनाइ छ । मृत्यु शैयामा पुगेपछि नभै स्वास्थ्यमा समस्या नदेखिए पनि परीक्षण गराउने व्यवस्था गरेको जानकारी गराए ।
नगरपालिकाले बच्चा जन्मनासाथ ५ हजार रुपैयाँ पुरस्कार स्वरुप दिने नीतिगत निर्णय गरेको जानकारी दिए । “उक्त रकम १८ वर्षपछि निकाल्न पाउनेछ । जुन रकम उसको अध्ययनका लागि काम लाग्न सक्छ । किनकी सबै नागरिक सम्पन्न हुँदैनन् । नगरपालिका सम्पन्न हुँदै गएपछि रकम पनि बढाउन सकिने छ । यो मैले गरेको काम भविष्यमा आउने अन्य जनप्रतिनिधिले निरन्तरता दिउन भन्ने चाहना छ ।” उनले भने ।
मृर्गौला र क्यान्सरका रोगीलाई पनि सहयोग गरेको नगर प्रमुखले जानकारी दिए । फलफूल खानकै लागि कसैसँग माग्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे । रोगको प्रकृतिअनुसार ३५ हजार, ५० हजार दिने गरेको छ । रेडक्रससँग सहकार्य गरेर रगत व्यवस्थापन पनि गरिएको उनले जानकारी दिए ।
सबै हातेमालो गरेर काम गर्न सके टोखालाई अझै सुन्दर र विकसित पालिका बनाउन सकिने अधिकारीको विश्वास छ । आफूले सबै वडाध्यक्षहरुसँग मिलेर काम गर्दै आएको उनले जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले विभिन्न आरोह अवरोह पार गर्दै आजको दिनसम्म आइपुगेको उल्लेख गरे । विगतको तुलनामा यस नगरपालिकामा धेरै सकारात्मक परिवर्तन भएको उनले बताए । नगरबासी, दल, संघ संस्था, जनप्रतिनिधि, कर्मचारीलगायतको प्रयासले नगरपालिकाले सफलता हासिल गरेको उनको भनाइ छ ।
नगरपालिकाकले पहिलो पञ्चवर्षीय योजनामा कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने अवधारणामा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा नगरपालिकाले विहान प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउसो रक्तदान कार्यक्रम गरेको थियो ।



Facebook Comments