
कैलाली । राजनीतिक नियुक्तिले शैक्षिक संस्था कमजोर बनिरहेका बेला एउटा विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्न खोज्दा आवेदन नै परेन । हो, कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन ।
विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको थियो । तर, थप गरिएको म्यादमा पनि आवेदन नपरेको हो ।
कैलालीको गेटामा २०७३ सालमा झन्डै ८ अर्ब ११ करोडको लागत अनुमानमा मेडिकल कलेज निर्माण सुरु भएको थियो । तर त्यहाँ बनाइएका भव्य भवनहरु प्रयोगविहीन भएका थिए ।
त्यसै भवनमा सरकारले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चाललन गर्ने निर्णय गरेको थियो । त्यस सम्बन्धी विधेयक गत जेठ महिनामा संघीय संसदबाट पास भइसकेको छ भने आर्थिक वर्ष २०८२÷८३ को बजेटमा पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ ।
मन्त्री महावीर पुनको आक्रोश
विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आक्रोश पोखेका छन् । दुईपटक विज्ञापन गर्दा पनि कसैको आवेदन नपरेको भन्दै मन्त्री पुनले आक्रोश पोखेका हुन् ।
मन्त्री पुनले फेसबुकमा लेखेका छन्–‘सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उपकुलपतिको योग्यता तोकिएको छ । कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेशन)मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै, विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्ननयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सीप र कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिले उपकुलपतिका लागि उमेरहद पनि तोकेको छ । दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने कार्यविधिमा भनिएको थियो ।
विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ । तीन जनालाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने छ ।



Facebook Comments