काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । आज बिहान १० बजे मुख्यमन्त्री यादवले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

शनिबार राति भएको छलफलपछि मन्त्रालयको भागवण्डामा दलहरुबीच सहमति बनेको छ । जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि मधेश सरकारका तीन मन्त्रालय उपलब्ध हुने बताइएको छ ।

मुख्यमन्त्रीसहित नेपाली काकांग्रेसले दुई मन्त्रालयमा पाउने भएको छ । जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ ।

कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि यादवले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस दलका नेता यादवले  कांग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।