
मुलुक जोगाउनका लागि एमालेको महाधिवेशन सफल बनाउनुपर्छ : नेता फुयाँल
पार्टी युद्धभूमिमा भएका बेला सबै एकजुट हुनुपर्छ : ढकाल
स्वतन्त्रताका नाममा जथाभावी नबोल्न महासंघका अध्यक्ष ढकालको सुझाब
काठमाडौं । पेशागत महासंघ नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी, जनपारिचालन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार काठमाडौमा महासंघको आयोजनामा महाधिवेशनसम्बन्धी कार्यक्रम गरेको हो ।
आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म हुन गइरहेको महाधिवेशनको सन्दर्भमा कसरी परिचालन हुने र सहभागिता कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले पार्टीलाई एक ढिक्का बनाउनका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । भएका समस्या औपचारिक छलफलका क्रममा राख्न आग्रह गर्दै ढकालले स्वतन्त्रताका नाममा जथाभावी नबोल्न सुझाब दिए ।

“यतिबेला हाम्रो पार्टीलाई एकताबद्ध हुनुपर्ने आवश्यकता छ । तपाई हामीलाई अप्ठेरोमा पर्दा साथ दिने पार्टीले नै हो । त्यसैले हामी सबै जिम्मेवार बन्नुपर्छ” ढकालले भने । महाधिवेशन उद्घाटनका दिन २७ गते बलियो उपस्थिती बनाउनुपर्नेतर्फ ढकालले ध्यानाकर्षण गराए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमालेको महाधिवेशनले देशकै ध्यान केन्द्रित गरेको अवस्थामा विभिन्न षडयन्त्र पनि हुन लागेको आशंका व्यक्त गरे । विरोधीहरुले एमालेको महाधिवेशन अत्यन्त उत्साहजनक हुने देखेपछि विभिन्न बहानामा बिथोल्ने प्रयास गरेको ढकालको भनाइ छ । अरुले जे जे गरे पनि एमाले पंक्ति संयमित हुनुपर्ने बताएका ढकालले आवश्यक पर्यो भने सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराए ।

“साथीहरु विग्रहको बाटोमा होइन, असमझदारीको यात्रामा होइन, यतिबेला पार्टी चौतर्फी घेराबन्दी र हमलामा परेको छ । पार्टी युद्धभूमिमा भएका बेला सबै एकजुट हुनुपर्छ ।” ढकालले भने ।
कार्यक्रममा एमालेका नेता रामेश्वर फुयाँलले संविधान धरापमा पार्न खोजिएको र प्रतिगमनतर्फ मुलुकलाई लैजान खोजिएका बेला हुन लागेको महाधिवेशनको धेरै महत्व रहेको बताए । जेनजी आन्दोलनका नाममा प्रतिगमनको उद्धेश्य पूरा गर्न खोजिएको बताउँदै फुयाँलले माग असल भए पनि मुलुक नै बर्बाद गर्न खोजिएको बताए ।
“लोकप्रियतावादीको अराजकता थियो । प्रतिगामी, पश्चगामी, उग्र दक्षिणपन्थी, उग्र वामपन्थीहरुले संसारकै उत्कृष्ट लोकतन्त्र भएको मुलुकको संविधान च्यात्ने प्रयास भयो ।” फुयाँलले भने । गलत प्रवृत्ति रोक्नका लागि राष्ट्रवादी शक्ति एमाले नै मुलुकलाई चाहिने फुयाँलले बताए ।
महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै गर्दा सर्वसम्मतिको खोजी गरिने तर सम्भव नभए प्रतिस्पर्धा पनि हुने उनको भनाइ छ । “सहमतिमै महाधिवेशन सकिन्छ । एउटा पदमा धेरै जनाले आकांक्षा देखाए निर्वाचन हुन्छ । चुनावमा बढि भोट ल्याउनेले जित्छ, यसका बारेका धेरै दन्तबझान नगरौँ । केन्द्रिय सदस्यमा त चुनाव हुन्छ नै । किनकी भेटेजति सबैले उठ्छु भन्नुभाछ ।” उनले बताए ।
जिते मात्र होइन, हारे पनि खुशी हुनुपर्ने भन्दै उनले आफू नवौँ महाधिवेशनमा हारेर सल्लाहाकार बनेको उदाहरण दिए । पेशागत क्षेत्रलाई सकेसम्म सर्वसम्मत बनाउन फुयाँलले आग्रह गरे ।
महाधिवेशनपछि समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्ने बताए । नेपालको प्रगति एमालेको कार्यकालमा, केपी ओलीको कार्यकालमा भएको थियो भन्ने यथार्थ विश्वलाई जानकारी दिनुपर्ने उनको तर्क छ ।
“एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । मुलुकलाई समुन्नत लोकतन्त्र दिनुपर्छ । यसका लागि महाधिवेशनलाई सफल बनाउनुपर्छ ।” उनले भने ।
पार्टीमा काम नगर्नेहरुको मुल्याङ्कन महाधिवेशनले गर्ने चेतावनी दिदै फुयाँलले सबैलाई आफ्नो जिम्मेवारी पूरा गर्न सुझाब दिए । पार्टीले तीन तहको सरकारका लागि बनाएको घोषणापत्रअनुसार काम भइरहेको दाबी गर्दै उनले कुनै पनि बहानामा काम नगर्ने छुट नभएको स्पष्ट पारे ।
फुयाँलले केपी ओलीको नेतृत्व दक्षिण एसियामै उत्कृष्ट भएको तर्क गर्दैै एमालेले नै मुलुकलाई एक ठाउँमा उभ्याउन सफल भएको बताए । नेपालको भूभाग समेटेर नयाँ नक्सा र नोट छाप्ने काम एमालेले गरेको उनको दाबी छ ।
“जुन वृक्षमा फल फलेको छ त्यहँ ढुंगा हानिरहेका छन् । ढुंगा हाने भनेर त्यो वृक्षले फल्न छोड्न मिल्छ र ? झन फल्नुपर्छ । धैर्यतापूर्वक फल जोगाउनुपर्छ ।” उनले थपे– “अहिलेको प्रणाली जोगाउनुपर्छ ।”
महाधिवेशनका लागि २७ गते सबै भक्तपुरको सल्लाघारी पुग्न फुयाँलले आग्रह गरे । राष्ट्रिय झण्डा बोकेर जान पनि उनले अपिल गरे । एमालेको महाधिवेशनमा जान एमाले नै हुनुनपर्ने भन्दै उनले सबै राष्ट्रवादीको साझा मञ्च बनाउनुपर्ने बताए ।
नेपालमा भएका अहिलेसम्मका आमसभामध्ये सबैभन्दा ठूलो आमसभा बनाउनुपर्ने उनले बताए ।



Facebook Comments