काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका छन् । सभापतिबाहेक पदाधिकारीमा धेरै नखुले पनि पार्टीको नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेको छ । 
अहिलेसम्म हालका महामन्त्री गगन थापा नेतृत्वका प्रबल दाबेदार देखिएका छन् । पार्टी रुपान्तरण र पुस्तान्तरणको मुद्धा जोडदारका साथ उठाउँदै आएका थापा सभापति पदका उम्मेदवार बन्ने निश्चित भइसकेको छ । 

थापा अघिल्लो महाधिवेशनमा लोकप्रिय मत पाएर महामन्त्रीमा विजयी भएका थिए । १४ औँ महाधिवेशनमा ४६ सय ८२ मत खस्दा गगनलाई ३ हजार २३ जनाले मतदान गरेका थिए । 
थापालाई चुनौती  दिन संस्थापन पक्षबाट को उम्मेदवार बन्छ भन्ने निश्चित भइसकेका छैन । सभापति शेरबहादुर देउवाले जसलाई समर्थन गर्यो त्यही नेता संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्ने अवस्था छ । 

अहिले पनि कांग्रेसमा देउवाकै बर्चश्व छ । देउवाले जे चाह्यो त्यही हुन्छ भनिन्छ । त्यसैले पनि देउवा अर्थात संस्थापन पक्षका नेताहरु देउवाको आशीर्वाद कुरेर बसिरहेका छन् । तर संस्थापन पक्षबाट धेरै जना आकांक्षी भएकाले एकभन्दा धेरै उम्मेदवार नबन्लान भन्न सकिदैन ।

पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शशांक कोइराला संस्थापन पक्षबाट सभापतिमा दाबी गर्न खोजिरहेका छन् ।

यि बाहेक अर्का प्रमुख दाबेदार मान्न सकिन्छ शेखर कोइरालालाई । अघिल्लो महाधिवेशनमा देउवासँग पराजित कोइरालाले ३७ प्रतिशत मत पाएका थिए । सभापतिको दाबेदारमा अर्को छुटाउन नहुने नाम हो पूर्णबहादुर खड्का । अघिल्लो पटक उपसभापतिमा निर्वाचित खड्कालाई अहिले देउवाले कार्यबाहक सभापति बनाएका छन् । देउवा गुट अर्थात संस्थापन पक्षबाट खड्कालाई उम्मेदवार बनाउने चर्चा पनि छ ।

यसबीचमा नेता चन्द्र भण्डारीले पनि पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

भण्डारीले लेखेका छन्–‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ।’

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् ।

सभापतिमा दाबी गर्नेमा अघिल्लो पटक सभापति पदमै २२ मत मात्र ल्याएका कल्याण गुरुङ पनि छन् । उनले भने पदको बार्गेनिङका लागि मात्र उम्मेदवारी  घोषणा गरेको बताइन्छ । 

कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । कसैले पनि आधा मत पाउन नसके धेरै मत ल्याउने पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा गराइन्छ ।

अब पहिलो चरणमा काको मैदानमा उत्रिएलान ? पहिलो चरणमै नतिजा आउला कि दोस्रो चरणमा पुग्नुपर्ला ? त्यो हेर्न भने महाधिवेशन नै कुर्नुपर्छ ।

कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।