काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानूनी र असंवैधानिक रहेको आरोप लगाएका छन् । बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले यस्तो आरोप लगाएका हुन् । ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे । कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर–माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए ।
त्यति मात्र नभै ओलीले अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएको बताएका छन् । उनले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे । उनले जाँचबुझ आयोगको मनशाय के छ भन्ने कुरा सञ्चारमाध्यमहरुमा आयोगका सदस्यहरुले व्यक्त गरेका अभिव्यक्तिहरुबट पुष्टि भइसकेको समेत बताए ।
वर्तमान सरकार अन्तरिम सरकारमा मात्र नभई असंवैधानकि सरकार भएको समेत उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री कार्कीलाई निर्वाचन गराउन राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको जिकिर गर्दै होस गरेर अगाडि बढ्न सरकारलाई चेतावनी दिए । उनले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै जे–नजी नेताहरुलाई प्रश्न गरे । आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको ओलीको भनाइ छ ।
‘भाग्यो नि... भगाइयो नि... भन्या छन् । म कहिले सिंहदरबार, कहिले बालुवाटारमा हुन्थेँ । बाहिर जाँदा मुकाम अन्त पनि हुन्थ्यो । कौरवहरूले दुर्योधन, सकुनी र दुसासनहरुले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । दुर्योधनका प्रेतहरू अहिले पनि रहेछन् । पाण्डवहरू भागेर बाँचे । एकातिरबाट आगो लगाए, पाण्डवहरू अर्कातिरबाट भागे । भागेकै हुन् पाण्डवहरू । काँतर भएर होइन, बुद्धि पु¥याएर भागे । ‘म जल्छु तर भाग्दिन’ भनेको भए जल्थे । जल्नु हुँदैनथ्यो । त्यस्ता परिस्थिति पनि आउँदा रहेछन् ।’ ओलीले भने ।
ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरे । कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए ।
उनले भने ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक ग¥यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’
हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापित हुनुपर्ने उनको धारणा छ । उनले अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना हुने ठोकुवा गरे । अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे ।
ओलीले नेकपा एमाले र कांग्रेस जनधार भएका ऐतिहासिक पार्टी भएको बताए । अहिले केही क्षण सूर्यमा बादल लागेकाले एमाले र कांग्रेस बाहिर रहेका उनले स्पष्ट पारे । उनले फेरि पनि देश चलाउन कांग्रेस र एमाले नै चाहिने दाबी गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा देशको राजनीतिक अवस्थाबारे छलफल भएको ओलीले सुनाए । देउवासँग भएको छलफलको परिणाम केही समयमा देखिने उनले दाबी गरे । अर्थपूर्ण छलफल भएको र त्यसको परिणाम भविष्यमा देखिन उनले स्पष्ट पारे ।
अहिले अपराध छल्न र महत्वाकाक्षा पुरा गर्न राजनीतिमा लाग्ने लहर देखिएको बताउँदै नेपाल जस्तो देशमा १४३ वटा पार्टी हुनु भद्दा मजाक भएको ओलीको भनाइ छ ।
महाधिवेशनको प्रसंगमा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने आशा अहिलेसम्म राखिरहेको बताएका छन् । ‘अब मेरो उठ्ने नउठ्ने भन्ने कुरा । अलिकति परिस्थिति त्यस्तोतिर गएको देख्दिनँ,’ ओलीले भने, ‘फेरि आशा छ, मेरो विरुद्ध कोही नउठ्ला र म निर्विरोध जित्छु भन्ने छ ।
मलाई त्यो आशा छ ।’ उनले भने । ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको बताएका छन् ।



Facebook Comments