मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ ।

परियारको मार्फास्थित खोरमा ४५ भेडाच्यांग्रा थिए । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पठाइएको छ । हिउँद याममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन् ।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पु¥याउने गरेको पाइएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बीचको सहअस्तित्वमा चुनौती देखिएको छ ।

यसैका कारण जिल्लाका कतिपय किसान पशुपालन व्यवसाय छोड्न थालेका छन् ।