काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने संकेत दिएका छन् । विहिबार सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले दुई दलबीच गठबन्धन हुनसक्ने संकेत दिएका हुन् । 

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको सन्दर्भमा ओलीले अर्थपूर्ण कुराकानी भएको र छिटै नतिजा देखिने बताएका छन् । ‘देउवाजीसँग गम्भीर र अर्थपूर्ण संवाद भएको छ । यसको राजनीतिक सन्देश विस्तारै बाहिर आउँछ’, उनले भने ।

निर्वाचनका लागि धेरै दलहरु निर्वाचन आयोगमा दर्ता भएको प्रसंगमा ओलीले त्यति धेरै दल नचाहिने, देशका लागि कांग्रेस र एमाले भए पुग्ने बताउनुले पनि सहकार्यको संकेत गर्छ । उनले निर्वाचन आयोगमा दर्ता भएका अन्य १४१ वटा दलहरूलाई आफूहरूसँग लड्न चुनौती दिएका छन् । 

‘अहिले निर्वाचन आयोगमा १४३ वटा दर्ता भएछन् । यति धेरै दल केका लागि आएका हुन् ?’, उनले भने, ‘सम्पादकमा असफल भएपछि दल खोल्ने, अन्त केही गर्न नसकेपछि दल खोल्ने चलन अहिले चलेको छ ।’

उनले अहिले आयोगमा दर्ता भएका दलहरू सबै मिलेर लड्न आए आफूहरू तयार रहेको बताए । ओलीले मंसिर १९ गते कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण र राजनीतिक सन्देश दिने गरी संवाद भएको बताए ।

‘देश बनाउने नेपाली कांग्रेस र एमाले छँदैछन् । यति धेरै दल के का लागि चाहिएको हो ? दर्ता भएका १४१ दल मिलेर कांग्रेस–एमालेसँग लड्न आए हुन्छ । हामी सामना गर्न तयार छौँ ।’