काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तरगत आज भृकुटीमण्डपमा बन्दसत्र कार्यक्रम छ । बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ । प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ ।
उदघाटन समारोहको मञ्च र बन्द सत्रको हलमा २ हजार २६२ प्रतिनिधिहरु अट्ने गरी व्यवस्था मिलाइएको छ । टेन्ट मुनि बनाएको हलमा शीर्ष नेताहरु बस्नका लागि मञ्च बनाएर सोफा राखिएको छ । प्रतिनिधिहरू बस्नका लागि तल कार्पेट ओछ्याएर प्लास्टिकका कुर्सीहरू राखिएको छ । साउन्ड सिस्टम, बिजुली बत्ती जडान लगायतका काम सम्पन्न भएको छ ।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन औपचारिक उदघाटन गरेको एमालेले नेतृत्व चयनका लागि बन्दसत्र सुरु गर्न लागेको हो । विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ । नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।
बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ । एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको छ । सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग लिन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ ।
यसैबीच अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको छ । बैठक बोलाइएका कारण यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ः३० बजेको लागि सारिएको छ ।



Facebook Comments