
नेकपा एमालेको ११ औँ महाधिवेशन शनिवार भक्तपुरको सल्लाघारीबाट सुरुभएसँगै आजदेखि बन्दसत्र हुँदैछ । बन्दसत्रसँगै निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन सबैको चासोको विषय बनेको छ । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलबीचको भिडन्तलाई सबैले चासोका साथ हेरेका छन् ।
अध्यक्षपछिका अन्य पदाधिकारीमा झन रस्साकस्सी भइरहेको छ । खासगरी ओली गुटमा महासचिव पदको दाबी तीन जनाले गरेपछि सहमति जुटाउन सकस भएको छ । हिजो उद्घाटन सत्र सकिएलगत्तै ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । उनीहरु तिनैजना महासचिवका दाबेदार हुन् ।
तर उक्त छलफलमा नेताहरूले अडान नछाड्दा सहमति जुट्न नसकेको बताइएको छ । शंकर पोखरेलले आफू महासचिवको उम्मेदवार बन्नबाट पछि नहट्ने अडान राखेका थिए । पृथ्वी सुब्बा गुरुङले महासचिव पद आफूलाई दिनुपर्ने बताए । ज्ञवालीले दुवै जनालाई अन्य पदमा प्रतिस्पर्धा गर्न सुझाब दिदै आफूलाई महासचिव बनाउन प्रस्ताव गरेका थिए ।
उपाध्यक्ष पदमा पनि सहज छैन । उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बराल लगभग निश्चित छ । त्यस्तै उपमहासचिवमा पनि ओलीको चाहना पृथ्वी सुब्बा, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई नै दोहो¥याउने छ । सचिवमा पनि मिलाउनुपर्ने भएकाले ओली छलफलमै छन् ।
उता ईश्वर पोखरेल समूहमा लागेका नेताहरू छुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन् । पोखरेल गुटमा पनि पद मिलाउन सहज छैन ।
ईश्वरको पक्षमा खुलेका सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, कर्ण थापा, ठाकुर गैरेहरुको अवस्था के होला ? वा ईश्वर पक्षले पद व्यवस्थापन कसरी गर्ला भन्ने चासो बढेको छ ?



Facebook Comments