
काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले आ–आफ्नो पदाधिकारीको नाम टुंगो लगाउने क्रम जारी छ । ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ’बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ ।
प्रदीप ज्ञवालीले महासचिवमा पनि आकांक्षा देखाएका थिए। तर उनलाई उपाध्यक्षमा सेट गराउने सहमति भएको हो । महासचिवमा शंकर पोखरेलकै नाम फाइनल भएको छ । उनले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो। ओलीको रोजाइ पनि पोखरेल नै हुन् ।
उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ । सचिवमा नौ जना निर्वाचित हुन्छन् । ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन् ।
नेकपा एसबाट एमालेमा फर्किएकी रामकुमारी झाँक्रीलगायतलाई भने पदाधिकारीमा ठाउँ दिइएन ।
संस्थापनविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।
यो टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ ।
बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।
उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ ।
सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।
अर्कातिर पोखरेल समूहमा यहाँ महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भइसकेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई फाइनल भइसकेका छन् ।



Facebook Comments