काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सरकारले सम्वाद समिति बनाएलगत्तै दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
जसमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् ।
महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन गरिएको बारे जानकारी गराएका छन् ।
आइतबार मात्रै सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम टुंगो लगाएर पठाउन भन्दै महाअभियानलाई पत्राचार गरेको थियो ।
त्यसपछि वार्ता टोली टुंगो लगाइएको प्रसाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रसाईं समूहले यसअघि विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।



Facebook Comments