
काठमाडौं । नेकपा (एमाले) को ११औँ अधिवेशनअन्तर्गत आजदेखि मतदान सुरु हुँदैछ । मतदान कति बजे सुरु हुने भन्ने अझै ठेगान छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा छन् । १९ जना पदाधिकारी चुनिदै गर्दा महिला उम्मेदवार केवल ४ जना मात्र छन् । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । तर, तीमध्ये ३ जना महिलाको मात्र उम्मेदवारी परेको हो ।
उपाध्यक्ष पदका लागि पाँच सिटमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर, महिला उम्मेदवारका रूपमा डा.बिन्दा पाण्डे मात्रै एक्ली प्रतिस्पर्धामा रहेकी छन् । दुवै प्यानलबाट गरी ११ उम्मेदवारी परे पनि ओली प्यानलबाट उपाध्यक्षमा एक जना पनि महिला उम्मेदवार नउठाइनुले पार्टीभित्र महिला प्रतिनिधित्वप्रति गम्भीर प्रश्न उठाएको छ । पोखरेल प्यानलबाट भने पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
आरक्षणको व्यवस्था नभएकाले पाण्डेले उपाध्यक्षमा निर्वाचित हुन ११ उम्मेदवारमध्ये उत्कृष्ट पाँचमा पर्नुपर्नेछ । सचिव पदमा पनि महिला उम्मेदवारी कमजोर देखिएको छ । ९ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ३ जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल र पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार छन् । पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् ।
महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ भने उपमहासचिवका तीन पदका लागि सात जना पुरुष उम्मेदवार मात्रै प्रतिस्पर्धामा छन् ।



Facebook Comments