काठमाडौं । पुराना दल र नेताले देश बिगारे भनेर एकपछि अर्को गर्दै नयाँ दल जन्मिरहेका छन् । आगाामी फागुन २१ गने प्रतिनिधिसभा निर्वाचन गर्ने भनेर मिति घोषणा भएपछि दलहरु धमाधम गठन भए । नयाँ दलमध्येको एक चर्चित र आशालाग्दो दल थियो श्रम संस्कृति पार्टी । धरान उपमहानगरपालकिाका नगर प्रमुख हर्क साम्पाङको नेतृत्वमा खोलिएको दल यतिबेला देश दौडाहामा छ । आफ्नो पार्टीलाई मतदान गरेर आफूलाई प्रधानमन्त्री बनाइदिन हर्कले आग्रह गरिरहेका छन् । 

पुराना दललाई गाली गरेर अघि बढ्न खोजेका उनै हर्कलाई धक्का लागेको छ । उनको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेपछि हर्क समस्यामा परेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपाध्यक्ष तामाङलाई २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । धनकुटा घर भई कपन बस्ने ५० वर्षीय लामाविरूद्ध त्यस घटनामा तीन जनाको मृत्यु र एक जना घाइते हुने गरी बम बिष्फोट गराएको अभियोग छ । 

कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूर समेतमा फरार रहेका उनलाई सुरूमा २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो । 

सुरूमा कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि उनलाई काठमाडौं पठाइएको थियो । केन्द्रीय कारागार नख्खुमा कारागार चलान गर्दा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए ।

तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए । त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जनाएको छ ।  

निकै खराब पृष्टभूमि भएका लामालाई पार्टीको उपाध्यक्ष बनाएका हर्कले पक्राउ परेपछि भने निलम्बन गरेका छन् । बुधबार बिहान फेसबुकबाट भिडिओ सन्देश जारी गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

भिडिओ सन्देशमार्फत साम्पाङले उनको पृष्ठभूमीमबारे आफू अनविज्ञ भएको बताएका छन् । ’मैले बुझेको चाहिँ उहा माओवादी पार्टीमा आबद्ध भएर धेरै लामो समयसम्म विभिन्न खालका पार्टीहरु विभिन्न खालका राजनीतिक अभियानहरुमा संलग्न हुदै आउनुभएको भन्ने मैले चाहिँ ‍थाहा पाएको छु,’ उनले भनेका छन् ।  

साम्पाङले लामामाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । ’उहाँ निर्दोष भएर बाहिर ननुस्कुन्जेलसम्म उहाँलाई पार्टीको पदबाट निलम्बन गरेको कुरा म जानकारी गराउन चाहन्छु,’ मेयर साम्पाङले भनेका छन् ।