काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि काठमाडौंको भृकुटीमपण्डपमा मतदान चलिरहेको छ । जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् ।

शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनिए पनि केही ढिला गरी सुरू भएको थियो । एमालेको नयाँ कार्यसमितिका चयनका लागि २ हजार २६२ जना प्रतिनिधिले मतदान गर्दैछन् ।

एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ । ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग भइरहेको छ । मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५–४० मिनेट लागेको छ । 

मतदान सकिएलगत्तै मतगणना सुरू हुनेछ । विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ । 

११ ‍औं महाधिवेशनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ ।  

दुवैले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन् । 

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।  

५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन् ।  

सर्वाधिक चासोका साथ हेरिएको महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् ।

त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन् । 

९ जना सचिव पदका लागि २० जना चुनावी प्रतिस्पर्धामा छन् ।
यि हुन् सचिवका उम्मेदवाहरु 
अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई  र हिक्मतकुमार कार्की 

प्रत्येक प्रदेशको भूगोल ‘क्लस्टर’ बाट ९ केन्द्रीय सदस्य छान्ने व्यवस्था छ । त्यसमा खुला ५, महिला ३ र ४० वर्षमुनिका एक युवा हुन्छन् । खुलाबाट आउने ७२ केन्द्रीय सदस्यमा १६७ उम्मेदवार छन् ।

पदाधिकारी र केन्द्रीय कमिटीसहित ३ सय १ जनाका लागि ६ सय ३ उम्मेदवारी परेको थियो । त्यसमध्ये ११ निर्विरोध भएका छन् । १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।