काठमाडौं । बुधबार बिहानैबाट पश्चिम तराईका क्षेत्रहरुमा हुस्सु लागेसँगै जनजीवन प्रभावित हुन थालेको छ । केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ ।

हुस्सु–कुहिरोले खासगरी भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा भिजिबिलिटी कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । आज बिहान भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।

यस्तै, कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ ।

मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ ।