काठमाडौं । नेकपा एमालेको नयाँ कार्यसमितिका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भयो । केपी ओली र ईश्वर पोख्रेल पक्षबीच कडा टक्कर हुने भनिए पनि मत परिणाममा त्यस्तो देखिएन । १९ जना पदाधिकारीमा ईश्वर पक्षबाट केवल २ जना मात्र निर्वाचित भएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२ सय २७ मत खसेको थियो । मतपरिणाम अनुसार केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । 

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ को महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । 

१९ जना पदाधिकारीमा ईश्वर पक्षबाट केवल २ जना मात्र निर्वाचित भएका छन् भने १७ जना ओली निकट विजयी भएका छन् । उपाध्यक्षमा विजयी हुनेहरुमा पृथ्वी सुब्वा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण राज विष्ट र रघु जी पन्त छन् । उपाध्यक्षमा गोकर्णबाहेक सबै ओली पक्षका हुन् । उपाध्यक्षमा पराजित हुनेहरु अरुण नेपाल, गुरु प्रसाद बराल,  टकं प्रसाद कार्की, पर्शुराम मेघि गुरुङ्ग, भिम प्रसाद आचार्य र विन्दा पाण्डे रहेका छन् । महासचिवमा ओलीका विश्वासपात्र शंकर पोख्रेल १२ सय २८ मत ल्याएर विजयी हुँदा ईश्वर पक्षबाट उठेका सुरेन्द्र प्रसाद पाण्डे ९ सय ९९ मत ल्याएर पराजित भए । 

उपमहासचिवमा ओली पक्षका लेखराज भट्ट र रघुवीर महासेठ विजयी हुँदा ईश्वर पक्षबाट योगेश भट्टराई विजयी भए । लेखराजले  १४४२, रघुविर महासेठले १३६८ र योगेश भट्टराईले १३४८ मत ल्याए । उपमहासचिवमा पराजित हुनेहरुमा ओलीका विश्वासपात्र विष्णु रिमालसहित आनन्द प्रसाद पोख्रेल, र वैजनाथ चौधरी रहेका छन् । 

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन् । 

सचिवमा विजयी हुनेमध्येमा महेश बस्नेतले सबैभन्दा धेरै १५४४ मत प्राप्त गरे । सचिवमा विजयी हुने अन्य नेताहरुमा पदमाकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन् । 

अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा अटुट रूपमा संलग्नता र सहभागिता रहने बताएका छन् ।

“आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु,” मतपरिणाम सार्वजनिक भएसँगै पोखरेलले फेसबुकमा लेखेका छन्, “नेकपा (एमाले) को निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् – हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

महासचिव जितेका शंकर पोखरेलले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई निर्णायक शक्तिका रूपमा अघि बढाउनुपर्छ भन्ने मत दिएको बताएका छन् । पोखरेलले अब हिजोका दिनमा भएका प्रतिस्पर्धालाई बिर्सेर एक भएर अघि बढ्नुपर्ने बताए ।

“ओलीको नेतृत्वमा पार्टीलाई निर्णायक शक्तिका रूपमा अघि बढाउनुपर्छ भन्ने मत महाधिवेशनले दिएको छ । हिजोका दिनमा को कहाँ थियो भन्ने कुरा विर्सेर अब एकताबद्ध भएर अघि बढ्नुपर्छ,” पोखरेलले भने ।