काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । नेकपाल भृकुटीमण्डपमा एकता सन्देश सभा गर्न लागेको हो ।

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । एकता सन्देश सभाका लागि काठमाडौं उपत्यकाभरबाट व्यापक जनसहभागिता सहभागि गराउने लक्ष्य छ ।
काठमाडौंको पश्चिम भेगअन्तर्गत नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिका तथा क्षेत्र नं. ८, ९ र १० बाट आउने जनसमुदाय, चितवन र धादिङबाट नागढुंगा नाका हुँदै आउने सहभागी तथा मकवानपुरबाट बल्खु हुँदै आउने जनसमुदाय बिहान ११ बजे सुन्धारामा जम्मा हुनेछन् ।

ललितपुरबाट कुपन्डोलमा भेला भई थापाथली र त्रिपुरेश्वर हुँदै आउने जुलुस पनि सोही समयमा सुन्धारामा पुग्ने र त्यसपछि रत्नपार्क–विद्युत प्राधिकरण हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्ने छ ।

त्यसैगरी काठमाडौंको उत्तरी भेग तारकेश्वर, टोखा, महानगरका क्षेत्र नं.५, ६ र ७ तथा नुवाकोट र रसुवाबाट आउने जनसमुदाय बिहान ११ बजे रत्नपार्कमा जम्मा भई बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप जानेछन् ।

बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र महानगरका क्षेत्र नं. ३, ४ र ५ बाट आउने सहभागीहरू डिल्लीबजार चारखालमा बिहान ११ बजे भेला भई शान्तिबाटिकाबाट आउने जुलुससँग मिसिएर पुतलीसडक हुँदै भृकुटीमण्डपतर्फ लाग्ने छ ।

काठमाडौं महानगरका क्षेत्र नं. १ र २ तथा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बबरमहलमा बिहान ११ बजे जम्मा भई भद्रकाली चोकबाट भृकुटीमण्डप जानेछन् ।

जुलुस ११ः३० बजे सुरु भई १२ बजे मञ्चमा पुग्ने र कार्यक्रम करिब दुई घण्टामा सम्पन्न हुने उनले बताए । विभिन्न कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले प्रदेशस्तरीय सन्देशसभा गरिरहेको छ ।