भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौबाट हवाईमार्ग र चितवनबाट सडकमार्ग हुँदै भैरहवा पुगेर जेलमुक्त भएका छन् । मौसमको खरावीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलस्थलमा समयमा नै उडान नभएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुर बिमानस्थल र त्यहाबाट सडकमार्ग हुँदै भैरहवा गएका थिए । 

भरतपुर बिमानस्थलबाट सडकमार्ग हुँदै भैरहवा जाने क्रममा समर्थकहरुले चितवनमा रविको पक्षमा नारावाजी गरेका थिए । भैरहवा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि रवि आजै रिहा भएका हुन् । बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । 

रिहा भएपछि प्रतिक्रिया दिदै लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए ।

आफू बोल्ने समय  आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । यसैबीच रास्वपाले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शुक्रबार बिज्ञप्ती जारी गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् । 

तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीको रहेका बिज्ञप्तीमा उल्लेख छ । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने बताइएको छ ।