काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाई जारी नै रहेको बताएका छन् । शनिबार काठमाडौं आएपछि त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दैै लामिछानेले आफ्नो व्यक्तिगत नभइ देश र पुस्तामाथिको न्यायको लडाई जारी रहेकाले बिजयी हुन बाँकी नै रहेको बताएका हुन् । अपदस्थ भएका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफु नरहेको भन्दै उनले उनीहरुलाई इतिहासको एउटा कुनामा संरक्षित र सम्मानित कसरी राख्ने भन्नेमा सोचिरहेको बताए । सम्मानित स्थानमा बस्ने वा नवस्ने भन्ने कुरा उनीहरुको अभिव्यक्ति र क्रियाकलापमा भर पर्ने उनको भनाइ छ । 

सभापति लामिछानेले नयाँ भन्नेहरु अव सवै मिल्ने र एकै ठाँउमा आउने दावी गरे  । एउटा चूनावका लागि नभइ पुस्ताका लागि आफु राजनीतिमा आएको भन्दै उनले खरानी भएको युवाहरुको सपनालाई पुरा गर्न सवै मिल्नुपर्ने बताए । लामिछानेले हरेक आन्दोलनमा सुरक्षाकर्मीलाई घाइते बनाएर परिवर्तन आएको भन्दै उनीहरुको पक्षमा समेत काम गर्नुपर्ने बताए । आफुमाथि धेरै मुद्दा रहेकाले सास रहुन्जेल आफु लड्ने उनको भनाइ छ ।

काठमाडौैं आएपछि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसंग छलफल गरेका छन् । बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसंग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताए । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । 

सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।


यसअघि आजै काठमाडौं आउनुअघि चितवनमा समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले आफुबिरुद्धको षडयन्त्रले कतिपनि बिचलित नभएको बताएका थिए । देशका निम्ति लड्दा आफुमाथि बिभिन्न षडयन्त्र भएपनि कतिपनि बिचलित नभएको उनका भनाइ थियो । उनले जेनजीको आन्दोलन र उनीहरुको माग प्रति आफ्नो समर्थन रहेको स्पष्ट पारेका छन् ।