काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन अपरिहार्य भएको दोहो¥याएका छन् । उनले निर्वाचन हुनैपर्ने भए पनि नेकपा एमालेले त्यसलाई भाँड्न खोजिरहेको आरोप लगाए ।
प्रचण्डले नेपाली कांग्रेस संसद पुनःस्थापनाको पक्षमा नलाग्नेमा आफू विश्वस्त रहेको बताए । पछिल्लो समय निर्वाचनको मिति सारिने हल्ला फैलाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकारले त्यस्तो कदम नचाल्न कडा चेतावनीसमेत दिए ।
‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’
‘जेनजी हाम्रै हुन्’ भन्दै फकाउने प्रयास गरेका प्रचण्डले नयाँ दलहरुसँग भने रुष्ट देखिए । प्रचण्डले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले लोकतन्त्रमा फुकेको फूल भनेको स्मरण गरेका छन् ।
आफूले फूल भनेपनि विस्तारै काँडा बन्दै गइरहेको टिप्पणी गरे । उनले भने, ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो...। बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’
प्रचण्डले खुलामञ्च खुला गर्न माग गरेका छन् । कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भएको उनको भनाइ छ ।
‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।
कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले विगतमा कमजोरी गरेको स्वीकार गर्दै एक पटक मौका दिन आग्रह गरे । उनले अब आफू र आफ्नो पार्टीले निर्वाचन जितेमा सरकारको नेतृत्व गरेर देशको कायापलट नै गर्ने जस्तो आश्वासन दिए ।
‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं ।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा गरेको हो । कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए । पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको थियो ।



Facebook Comments