
रुपन्देही — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङले बुटवलमा आयोजित पार्टीको सभामा विवादास्पद अभिव्यक्ति दिएको भन्दै पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्।
शनिबार बुटवलको ट्राफिक चोकमा आयोजित सभामा अध्यक्ष साङ्पाङसहित उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। सो क्रममा कार्यक्रमको व्यवस्थापन र सम्बोधनको पालोको विषयलाई लिएर उपाध्यक्ष परियारले सार्वजनिकरूपमै असन्तुष्टि व्यक्त गरेपछि विवाद उत्पन्न भएको हो।
अध्यक्ष साङ्पाङले सामाजिक सञ्जालमार्फत ‘श्रम संस्कृतिमा कोही सानो–ठूलो हुँदैन’ भन्दै उपाध्यक्ष परियारले आयोजक र सहसंयोजकलाई अपमानजन्य भाषा प्रयोग गरेको आरोप लगाएका छन्। आचारसंहिता उल्लंघन भएको ठहर गर्दै नसच्चिएसम्म कारबाही गरिएको जानकारी उनले दिएका छन्, यद्यपि कस्तो किसिमको कारबाही हो भन्नेबारे स्पष्ट गरिएको छैन।
सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साङ्पाङले सम्बोधन गरेका थिए। त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु भएको बेला उद्घोषकले उपाध्यक्ष परियारलाई सम्बोधनका लागि आमन्त्रण गरेका थिए। तर सो समयमा उपस्थितहरूको ध्यान अध्यक्ष साङ्पाङसँग टीका लगाउने र फोटो खिच्नतर्फ केन्द्रित भएपछि परियार आक्रोशित भएका थिए ।
सम्बोधनका क्रममा परियारले आफू केन्द्रीय उपाध्यक्ष भएको उल्लेख गर्दै ध्यान अर्कोतर्फ मोडिनु अनुचित भएको बताएका थिए। उनले कार्यक्रमको सेड्युल नमिलेको भन्दै जिल्ला आयोजक समितिले आत्मसमीक्षा गर्नुपर्ने मागसमेत गरेका थिए। साथै, दुई दिनदेखि बुटवलमा बसेर पार्टीका लागि मेहनत गरेको दाबी पनि गरेका थिए।
सभापछि आयोजक समितिका सहसंयोजकलाई अपशब्द बोलेको जानकारी प्राप्त भएपछि अध्यक्ष साङ्पाङले आचारसंहिता उल्लंघन भएको निष्कर्ष निकालेका हुन्।
यसअघि पनि पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेपछि कारबाहीमा परिसकेका छन्।



Facebook Comments