नेकपा एमालेको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष बनेका छन् । अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल पराजित भए। परिणाम सार्वजनिक भएलगत्तै ओलीले “एमालेमा अब कुनै गुट छैन” भन्दै एकताको सन्देश दिएका थिए। तर अध्यक्षमा जितेपछि ओलीको बोली र व्यवहारबीच भने स्पष्ट असमानता देखिन थालेको छ ।
महाधिवेशनकै सुरुवातदेखि ओलीको आलोचना गर्दै आएका ईश्वर पोखरेललाई अध्यक्ष बनेसँगै ओलीले व्यवहारिक रूपमा निषेध गर्न थालेको आरोप लाग्दै आएको छ । यसले ओलीको ‘गुट समाप्त’ भन्ने दाबीमाथि प्रश्न उठाएको छ । अर्कोतर्फ, चिढिएका ईश्वर पोखरेलले पनि ओली प्रवृत्तिविरुद्ध खुलेर प्रतिवाद गर्ने संकेत दिएका छन् ।
ईश्वर प्यानलबाट उपाध्यक्षमा निर्वाचित गोकर्ण विष्ट र उपमहासचिवमा जितेका योगेश भट्टराई ईश्वरको पक्षमा उभिएका छन्। शनिबार ईश्वर पक्षले भेला आयोजना गर्दै, ओलीले आफ्नो कार्यशैली सुधार नगरे चुप लागेर नबस्ने निष्कर्ष निकालेको छ ।
ओली–ईश्वरबीचको तिक्तता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन दिनुपर्ने विषयबाट झनै चर्किएको बताइन्छ । यही विषयमा ईश्वरले पहल गरेपछि ओली असन्तुष्ट बनेको र विद्यादेवीकै तर्फबाट ईश्वरले अध्यक्षमा उम्मेदवारी दिएको चर्चा पनि चलिरहेको छ ।
विगतमा लामो समय एकअर्काका सहयात्री रहेका ओली र ईश्वर अहिले पार्टीभित्र प्रष्ट रूपमा दुई खेमामा विभाजित देखिएका छन्। सानो समूहको साथ भए पनि ईश्वर पोखरेल पछि नहट्ने र ओलीको ‘गलत प्रवृत्ति’ विरुद्ध लड्ने उद्घोषले एमालेको भविष्य झनै अनिश्चित बनेको छ ।
एमालेमा “ओलीले जे भन्यो त्यही लागू हुन्छ” भन्ने मान्यतालाई ईश्वर पक्षले चुनौती दिन सक्ला कि नसक्ला भन्ने जिज्ञासा बढेको छ । यसका लागि आगामी दिनमा दुबै पक्षले लिने रणनीतिले निर्णायक भूमिका खेल्नेछ ।
यसअघि ओलीको कार्यशैली सहन नसकेर माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र भीम रावलजस्ता नेताहरू पार्टीबाट बाहिरिएको उदाहरण पनि छ । त्यसैले कतिपयले अब ईश्वर पोखरेल र उनको पक्षको पनि उस्तै नियति हुन सक्ने अनुमान गरिरहेका छन्। तर ईश्वरले भने आत्मसमर्पण नगर्ने र पार्टी विभाजन पनि नगर्ने स्पष्ट पारेका छन् ।
पार्टीलाई एकताबद्ध राख्ने जिम्मेवारी अन्ततः अध्यक्ष केपी ओलीकै काँधमा छ। ओलीको नेतृत्व शैली समावेशी बन्छ कि झनै पेलानमुखी, त्यसैले एमालेको आगामी राजनीति ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ ।





Facebook Comments