काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेट गरेका छन् ।
नेताद्वयले बुधबार जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् ।
गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक प्रचण्ड र सहसंयोजक नेपाल डल्लुस्थित निवासमा पुगेका थिए । चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले नेताहरूलाई दिएका प्रचण्डको सचिवालयले जनाएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन् । लगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको छ ।
बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो ।
त्यसपछि उनलाई असोज ७ गते भारत लगिएको थियो । ७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।



Facebook Comments